भ्रष्ट दललाई टाउको उठाउन दिनु हुँदैन : डा. भट्टराई

तु खबर संवाददाता
२०८२ आश्विन ९, बिहीबार १३:०९
file-photo

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना र भ्रष्ट भइसकेका दललाई कुनै पनि बहानामा पुनः टाउको उठ्न नदिन चेतावनी दिएका छन् ।

बिहीबार पत्रकार सम्मेलन गर्दै उनले अब नयाँ र वैकल्पिक शक्तिहरुले देशको नेतृत्व लिनुपर्ने आवश्यकता औंल्याए । नेसपा (नयाँ शक्ति) को अध्यक्ष पदबाट राजीनामा दिएपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, “भ्रष्टाचारीहरुसँग लुटेर राखेको अर्बौं सम्पत्ति छ, त्यसकै बलमा उनीहरू चुनाव जितेर आउँछन् । त्यसैले राजनीतिक स्थिरता सम्भव छैन ।”

उनले भ्रष्टाचार नियन्त्रणका लागि विशेष आयोग गठन गर्नुपर्ने आवश्यकता औंल्याउँदै, हालसम्म बनेका छानबिन आयोगहरू केवल आंशिक प्रयास मात्र रहेको बताए । “पुराना र थोत्रा पार्टीहरू सच्चिने सम्भावना छैन, बरु त्यहाँका नेताहरुले विद्रोह गर्नुपर्छ,” भट्टराईले भने ।

राजनीतिक परिवर्तनलाई उनले ‘आंशिक सफलता’ मात्र भएको टिप्पणी गर्दै दीर्घकालीन स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्ने धारणा राखे । “व्यवस्था बदल्न खोजेको होइन, तर व्यवस्थामा महत्वपूर्ण सुधार गरेर मात्रै निर्वाचनमा जानुपर्छ,” उनले जोड दिए ।