शेयर बजार स्थायित्वका लागि धितोपत्र बोर्डलाई ज्ञापनपत्र
काठमाडौँ । पछिल्ला दिनहरूमा देशभर उत्पन्न भएको राजनीतिक अस्थिरता र आन्दोलनका कारण उत्पन्न परिस्थितिले शेयर बजारमा ठूलो प्रभाव पारेको भन्दै ‘पुँजीबजार सुधार अभियान’ अन्तर्गत विभिन्न संघ–संस्थाले नेपाल धितोपत्र बोर्डलाई ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापनपत्रमा हालको परिस्थितिमा लगानीकर्ताको मनोबल कमजोर भएको र बजारमा अनावश्यक बिक्री दबाब बढ्दै गएको भन्दै तत्काल शेयर कारोबार अस्थायी रूपमा स्थगित गर्नुपर्ने माग गरिएको छ।
संघ–संस्थाले बजारको स्थायित्व र लगानीकर्ताको सुरक्षालाई ध्यानमा राख्दै अस्थायी स्थगन आवश्यक रहेको उल्लेख गरेका छन्। उनीहरूले असामान्य स्थिति लम्बिँदै गए थप समस्या सिर्जना हुनसक्ने भन्दै बजारलाई सुरक्षित राख्न बोर्डले तुरुन्त कदम चाल्नुपर्ने बताएका छन्।
ज्ञापनपत्रमा भनिएको छ, “राजनीतिक रूपमा उत्पन्न अनिश्चितताका कारण लगानीकर्तामा त्रास फैलिएको छ। यसले शेयर बजार असामान्य रूपमा प्रभावित बनाएको छ। त्यसैले बजार अस्थायी रूपमा स्थगित गरेर पुनःस्थापना गर्नुपर्ने हाम्रो प्रबल माग हो।”
साथै, संघ–संस्थाहरूले पुँजीबजार सुधारका मागहरू निरन्तर उठाउँदै जाने र सुधारका लागि नेपाल धितोपत्र बोर्डलाई निरन्तर दबाब दिने प्रतिबद्धता पनि जनाएका छन्।





