गौतमको नेतृत्वमा चौघडामा टोल सुरक्षा समिति गठन
हेटौंडा । जेन जीको नाममा अराजक व्यक्तिहरुले समाजमा अशान्ति मच्चाउन सक्ने भन्दै त्यसलाई नियन्त्रण गर्न हेटौंडा ६ चौघडामा टोल सुरक्षा समिति गठन गरिएको छ ।
जेन जीका उचित मागहरुप्रति ऐक्यवद्धता जनाएको सो समितिले आफ्नो टोल छिमेकमा लुटपाट र आक्रमण हुन नदिन सुरक्षा समिति गठन गरेको जनाएको हो । स्थानीय देवराज गौतमको संयोजकत्वमा सो सुरक्षा समिति गठन भएको हो । समितिले छरछिमेक र टोलका महत्वपूर्ण संरचनाको संरक्षणमा सुरक्षा निकायसँग समन्वय गरेर काम गर्ने जानकारी दिएको छ ।
जेन जीको आन्दोलन पश्चात पनि आन्दोलनसित असम्बन्धित व्यक्तिहरुले विभिन्न सरकारी तथा व्यक्तिको भौतीक संरचनाहरुमा आगजनी गर्ने, तोडफोड गर्ने र लुटपाट गर्ने काम जारी राखेपछि टोलको सुरक्षाका लागि समिति बनाउनु परेको गौतमले जानकारी दिए । समितिले समूह बनाएर रातभरि तथा दिउँसोको समयमा पनि गस्ती गर्ने तयारी गरेको छ । सुरक्षाकर्मीहरुको समन्वयनमा टोलको सुरक्षाको लागि काम गर्ने समितिले जनाएको छ ।
