प्रचण्ड र अन्य नेताको निवासमा आगजनी

तु खबर संवाददाता
२०८२ भाद्र २४, मंगलवार ११:०९

काठमाडौं । देशभर चर्किएको जेनजी आन्दोलन अन्तर्गत मंगलबार शीर्ष नेताहरूका निवास र कार्यालयलाई लक्षित गर्दै प्रदर्शन तीव्र बनेको छ ।

ललितपुरको खुमलटारस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेपछि आगजनी गरेका छन् । मंगलबार बिहानै सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको ललितपुर, सुनाकोठीस्थित घरमा पनि आन्दोलनकारीले आगजनी गरेका छन् ।

सोमबार सरकारले गरेको दमनमा १९ जनाको ज्यान गएको घटनापछि सुरु भएको आन्दोलन मंगलबार अझ उग्र बनेको हो । काठमाडौं, भक्तपुर, ललितपुरलगायतका जिल्लाहरूमा कर्फ्यु तोड्दै हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका छन् । चोक–चोकमा टायर बालेर उनीहरूले सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निजी निवास र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित घरतर्फ आन्दोलनकारी घेराउमा पुगेका छन् । नेताहरूको निवास र पार्टी कार्यालयहरू लक्षित आन्दोलनले स्थिति थप तनावपूर्ण बनेको छ ।