आजदेखि सोह्र श्राद्ध (पितृ पक्ष) सुरु

काठमाडौं । आज (सोमबार) देखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु भएको छ। यो अवधि पितृहरूप्रति श्रद्धा र भक्ति प्रकट गर्ने विशेष समय मानिन्छ।
वैदिक सनातन हिन्दु परम्पराअनुसार कुनै पनि ठूला चाडपर्व वा शुभ कार्य गर्नु अघि पितृलाई सम्झने प्रचलन छ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध आजदेखि विधिवत् आरम्भ भएको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रकाशित पात्रोअनुसार आज प्रतिपदा तिथि श्राद्ध पिण्डदान अपरान्हसम्म गर्नुपर्ने उल्लेख छ।
सोह्र श्राद्धको समयमा पितृहरूले आफ्ना सन्तानबाट तर्पण र पिण्डको अपेक्षा गर्ने शास्त्रीय मान्यता छ। यसरी श्राद्ध गर्दा पितृहरूप्रतिको दायित्व पूरा हुने र पितृऋणबाट मुक्ति पाइने धार्मिक विश्वास रहँदै आएको छ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदा दान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो। यसलाई अपर पक्ष, प्रेत पक्ष आदि नामले पनि चिनिन्छ।
चाडपर्व, यज्ञयागादि तथा ठूला कार्य अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झेर सोह्र श्राद्ध गर्ने परम्परा निरन्तर चल्दै आएको छ।