नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि जिल्ला अदालतमा अन्तिम सुनुवाइ सुरु

तु खबर संवाददाता
२०८२ भाद्र १८, बुधबार ११:२६

काठमाडौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनामा संलग्न भएको अभियोगमा दायर मुद्दाको अन्तिम सुनुवाइ आजदेखि जिल्ला अदालत काठमाडौँमा सुरु भएको छ । करिब दुई वर्षदेखि विचाराधीन उक्त मुद्दामा पूर्वगृहमन्त्री, पूर्वउपप्रधानमन्त्रीसहित उच्च पदाधिकारीहरू प्रतिवादी बनेका छन् ।

सरकारी वकिलको कार्यालय, काठमाडौँले ठगी, किर्ते, संगठित अपराध र राज्यविरुद्धको अपराधसमेत पाँचवटा अभियोगमा १० जेठ २०८० मा मुद्दा दायर गरेको थियो । सो मुद्दामा पूर्व उपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जना प्रतिवादी रहेका छन् ।

जिल्ला अदालतका तत्कालीन न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले प्रारम्भिक प्रमाणका आधारमा अभियुक्तहरूलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको थियो । उच्च अदालतमा पुनरावेदनपछि केही अभियुक्त धरौटी र तारेखमा छुटेका छन् भने केही अझै थुनामै रहेका छन् ।

वैशाखयता मात्रै शरणार्थी प्रकरणको मुद्दामा १० पटक साप्ताहिक र १६ पटक पूरक पेसी चढेको थियो । करिब साढे दुई वर्षपछि अन्ततः आजदेखि जिल्ला अदालतले अन्तिम सुनुवाइ थालेको हो ।