अफगानिस्तानको भूकम्पमा ८ सय भन्दा बढीको मृत्यु, २ हजार ५ सय घाइते

तु खबर संवाददाता
२०८२ भाद्र १६, सोमबार १६:१७

आइतबार राति पूर्वी अफगानिस्तानमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा ८०० जनाको मृत्यु भएको छ भने २,५०० भन्दा बढी घाइते भएका छन्। तालिबान सरकारका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले पुष्टि गरेका छन्।

अमेरिकी भूगर्भ सर्वेक्षण  का अनुसार भूकम्प राति ११:४७ बजे नान्गाहार प्रान्तको जलालाबाद सहरबाट २७ किलोमिटर पूर्व–उत्तरपूर्वमा केन्द्रित थियो। प्रारम्भिक भूकम्पपछि पाँचवटा परकम्प महसुस गरिएका छन्, जसमध्ये सबैभन्दा ठूलो ५.२ म्याग्निच्युडको थियो, जुन सोमबार बिहान ४ बजेपछि गएको हो।

अधिकारीहरूले दिएको तथ्याङ्कअनुसार सबैभन्दा धेरै मृत्यु कुनार प्रान्तमा भएको छ, जहाँ झण्डै ८ सय जनाले ज्यान गुमाएका छन्। नान्गाहार प्रान्तमा थप १२ जनाको मृत्यु भएको छ भने २ हजार ५ सय जना घाइते भएका छन्। राजधानी काबुलसहित प्रभावित क्षेत्रमा उद्धार टोली र मेडिकल सहायता पुगिसकेको छ।

जनस्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमानका अनुसार कुनार, नान्गाहार र काबुलबाट चिकित्सक तथा स्वास्थ्यकर्मी उद्धार क्षेत्रमा परिचालित भएका छन्। धेरै गाउँहरू पूर्ण रूपमा ध्वस्त भएको र मृतक तथा घाइतेको तथ्याङ्क अझै परिवर्तन भइरहेका छन्।

रक्षा मन्त्रालयका अनुसार उद्धार तथा राहत कार्यका लागि हालसम्म ४० वटा उडानमार्फत सहयोग सामग्री र जनशक्ति पठाइएको छ। संयुक्त राष्ट्रसंघले पनि तालिबान अधिकारीहरूसँग सहकार्य गर्दै उद्धार कार्यलाई सहयोग गरिरहेको जनाएको छ।

अफगानिस्तान भूकम्पको जोखिममा रहेको देश हो। गत वर्ष मात्र विभिन्न भूकम्पीय गतिविधिबाट एक हजारभन्दा बढी व्यक्तिको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।