इजरायली हवाई आक्रमणमा हुथी प्रधानमन्त्री मारिएको पूष्टी
यमनको हुथी समूहले राजधानी सानामा भएको इजरायली हवाई आक्रमणमा आफ्ना प्रधानमन्त्री मुजाहिद अहमद गलेब अल–राहावी मारिएको पुष्टि गरेको छ। बिहीबार भएको उक्त आक्रमणमा उनीसँगै कयौं मन्त्रीहरू पनि मारिएको समूहले विज्ञप्ति मार्फत जनाएको छ।
अलजजीरा समाचारका अनुसार हुथी नेतृत्वको सरकारका अन्य सदस्यहरूसँगै एक कार्यशालाको क्रममा अल–राहावीलाई लक्षित गरिएको विज्ञप्तिमा उल्लेख छ। हुथी सर्वोच्च राजनीतिक परिषद्का अध्यक्ष महदी अल–मशातले भिडियो सन्देश जारी गर्दै इजरायलविरुद्ध “बदला” लिने चेतावनी दिएका छन्। उनले भने, “हामी बदला लिनेछौं, र हामी घाउको गहिराइबाट विजय हासिल गर्नेछौं।”
इजरायली सेनाले आक्रमणलाई “हुथी आतंकवादी शासनका सैन्य लक्ष्यहरू” माथिको प्रहारको रूपमा व्याख्या गरेको छ। गाजामा जारी युद्धकै बीचमा यस घटनाले मध्यपूर्वमा तनाव झनै बढाएको छ।
हालैका महिनाहरूमा इजरायलले बारम्बार हुथी स्थानहरूलाई लक्षित गर्दै आक्रमण गरेको छ। यद्यपि हुथीहरूले बारम्बार दाबी गर्दै आएका छन् कि इजरायली आक्रमणहरूले उनीहरूको सैन्य कारबाहीलाई रोक्न सक्दैन। समूहले इजरायल र पश्चिमी जहाजहरूलाई लक्षित गर्ने कार्यलाई गाजामा प्यालेस्टिनीहरूको समर्थनका रूपमा प्रस्तुत गर्दै आएको छ।
हुथीहरूले इजरायली आक्रमणमा अरू कति मन्त्रीहरू मारिएका छन् भन्ने विवरण भने खुलाएका छैनन्।
