मुख्यमन्त्री बानियाँलाई प्राप्त भयो विश्वासको मत,पक्षमा ६३, विपक्षमा २२, तटस्थ ७ मत
हेटौंडा । नव नियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मुृख्यमन्त्री बानियाँको पक्षमा ६३ मतसहित प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका हुन् । उनको विपक्षमा २२ मत परेको छ भने तटस्थ मत ७ रहेको छ ।
बहादुर सिंह लामालाई दलको नेताबाट २२ मतले पराजीत गरेपछि नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको नेताको रुपमा मुख्यमन्त्री नियुक्त भएका बानियाँले आज प्रदेशसभामा विश्वासको मत लिएका हुन् ।
साउन २० गते प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । नेपालको संविधान अनुसार, मुख्यमन्त्रीमा नियुक्त भएपछि ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ । सोही प्रावधान अनुसार बानियाँले आज विश्वासको मत लिएका हुन् ।
नेपाली काँग्रेसका तर्फबाट मन्त्रिपरिषद्मा रहेका चार जना मन्त्रीहरुले समेत लामा विरुद्ध अविश्वासको मत संसदीय दलमा दर्ता गराएपछि लामाको नेतृत्वको सरकार संकटमा परेको थियो ।
विश्वासको मत लिनु अघि प्रदेशसभामा बोल्दै मुख्यमन्त्री बानियाँले जनमुखी काम सरकारको प्राथमिकता हुने बताए । जनतामाथि होइन, जनताको मनभित्र रहेर सरकारले काम गर्ने उनले स्पष्ट पारेका छन् । उनले सहमति, सहकार्य र आपसी सहकार्यका लागि प्रतिवद्ध रहेको समेत प्रदेशसभामा बताए । सरकारले विकासको गति बढाउने र सामाजिक अराजकता तथा नकारात्मक सोचलाई सकारात्मक बनाउन विश्वासको मत आवश्यक रहेको बानियाँले बताए । उनले मिलेर प्रदेश बनाउने घोषणा गरेका छन् ।
