बानियाँ मन्त्री बनाउनेहरुको लिस्ट टुंग्याउँदै, प्रभात तामाङको होला त कमब्याक ?
हेटौंडा । आज मुख्यमन्त्री नियुक्त हुने तयारीमा रहेका नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ आफ्नो पार्टीबाट मन्त्री बनाउनेहरुको सूची टुंग्याउने गृहकार्यमा जुटेका छन् ।
नेकपा एमालेले सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाइसकेको छ भने काँग्रेसबाट सरकारमा सहभागी हुनेहरुको नाम टुंगो लगाउन बाँकी छ ।
एमालेले ६ मन्त्रालयमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको हो । एक जनालाई दोहोर्याउँदै एमालेले थप पाँच जनाको नाम टुंगो लगाएको छ । स्वास्थ्य मन्त्री किरण थापा मगर दोहोरिने मन्त्री बनेका छन् भने श्रम, रोजगार तथा यातायात मन्त्रीमा जयराम थापा, वन तथा वातावरणमन्त्रीमा भरतबहादुर केसी, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा मधुसुधन पौडेल, भौतिक पूर्वाधार विकासमन्त्रीमा डा. दिनेशचन्द्र देवकोटा र उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्रीमा विन्दु श्रेष्ठको नाम टुंगो लगाएको एमाले स्रोतले जनाएको छ ।
काँग्रेसबाट भने शिवराज अधिकारी, प्रभात तामाङ र कृष्ण तामाङ मन्त्री बन्ने लिस्टमा शीर्षस्थानमा छन् । यस अघि पनि आर्थिक मामिला तथा योजना मन्त्रीमा पठाउने निर्णय भएर पनि कुन्दनराज काफ्लेको लफडाका कारण प्रभात तामाङ मन्त्री बनेका थिएनन् । मुख्यमन्त्रीले नियुक्त गरेपनि प्रभात तामाङको खपथग्रहण रोकिएको थियो । कुन्दनराज काफ्लेले आफूलाई कुनै हालतमा आर्थिक मामिला मन्त्रालय चाहिने भनेर सपथ समारोह मै लफडा गरेपछि तामाङ बाहिरिएका थिए ।
