बागमतीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न २४ घण्टाको समय
बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। आइतबार निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अगाडि बढाएका हुन्।
सोही अनुसार प्रदेश प्रमुख कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदेशसभाबाट दुई वा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यले दाबी पेस गर्न सक्ने जनाएको छ।
प्रदेश प्रमुखका प्रवक्ता देवेन्द्र सापकोटाले जारी गरेको विज्ञप्तिमा मंगलबार (साउन २० गते) दिउँसो २ बजेसम्म बहुमतको आधारसहित दाबी पेश गर्न समयसीमा तोकिएको छ।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा कुनै एक दलले स्पष्ट बहुमत नपाएको अवस्थामा दुई वा बढी दलको समर्थन प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान छ।
मुख्यमन्त्री लामाले राजीनामा दिएसँगै बागमती प्रदेशमा सरकार गठनको दौड सुरु भएको छ। प्रमुख राजनीतिक दलहरूले आन्तरिक छलफल तीव्र पारिरहेका छन्।

