गाजामा कुपोषणको भयावह अवस्था, ७४ जनाको मृत्यु

तु खबर संवाददाता
२०८२ श्रावण १३, मंगलवार १९:०८

गाजामा लाखौं प्यालेस्टिनीहरू गम्भीर खाद्य संकटको चपेटामा परिरहेका छन्, जसले गर्दा अब त्यो क्षेत्र सामूहिक भोकमरीको नजिक पुगेको संयुक्त राष्ट्र-समर्थित एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण आइपीसी पहलले चेतावनी दिएको छ। महिनौंदेखि जारी युद्ध, इजरायली नाकाबन्दी, र मानवीय सहायतामा बाधा पुग्दा गाजाका नागरिकहरूलाई अत्यावश्यक खाद्यान्न, स्वच्छ पानी र औषधि नपुग्ने अवस्था सिर्जना भएको छ।

आइपीसी का अनुसार, अनिकाल को घोषणा गर्न तीनवटा मापदण्डहरू छन्: पहिलो, पाँच घरपरिवारमध्ये कम्तीमा एक घरमा चरम खाद्य अभाव हुनु; दोस्रो, जनसंख्याको लगभग एक-तिहाई बालबालक तीव्र कुपोषणमा हुनु; र तेस्रो, प्रत्येक १०,००० जनामा कम्तीमा २ जनाको दैनिक मृत्यु हुनु । यसमध्ये दुईवटा मापदण्ड गाजामा पूरा भइसकेको बताइएको छ, र बाँकी एकको मूल्याङ्कन भइरहेको छ।

विश्व स्वास्थ्य संगठन का अनुसार, सन् २०२५ मा अहिलेसम्म कुपोषणको कारणले ७४ जनाको मृत्यु भइसकेको छ, जसमा ६३ जना जुलाई महिनामै मरेका थिए। मृतकमध्ये २४ जना ५ वर्ष मुनिका बालबालीका छन्। विश्व स्वास्थ्य संगठन का प्रमुख डा. टेड्रोस अधानोम गेब्रेयससले गाजाको अवस्था “मानव निर्मित सामूहिक भोकमरी” भएको बताएका छन् र यो अवस्था पूर्ण रूपमा रोक्न सकिने रहेको बताएका छन्।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने गाजामा भोकमरी भइरहेको भन्ने दाबी अस्वीकार गरेका छन्। यद्यपि, सहायता एजेन्सीहरूले गाजाको सीमामा थुप्रिएको खाद्यान्न, औषधि र अन्य आवश्यक सामग्रीलाई भित्र जान नदिएको भन्दै अवस्था झन् गम्भीर बन्ने चेतावनी दिएका छन्।

आइपीसी ले यसअघि चारपटक मात्र भोकमरीको स्थिति वर्गीकरण गरेको छ: सन् २०११ मा सोमालिया, २०१७ र २०२० मा दक्षिण सुडान, र २०२४ मा सुडानमा। यदि हालको अवस्था यथावत् रह्यो भने गाजाले पाँचौँ स्थानमा अनिकाल भोग्ने क्षेत्रको सूचीमा नाम लेखाउने सम्भावना बढ्दै गएको छ।

सहायता संस्थाहरू र अन्तर्राष्ट्रिय निकायहरूले तत्काल मानवीय सहायता मार्ग खोल्न आह्वान गरेका छन्, किनभने आइपीसी को भनाइमा, जब सकटकाल घोषणा गरिन्छ, तब धेरै मानिसहरू पहिले नै मरेका हुनेछन।