कम्बोडिया–थाइल्याण्ड सीमा झडप: ३२ जनाको मृत्यु युद्धविरामको आह्वान

तु खबर संवाददाता
२०८२ श्रावण १०, शनिबार १४:२७

कम्बोडिया र थाइल्याण्डबीचको पुरानो सीमा विवाद फेरि चर्किँदै गएको छ, जसले पछिल्ला दिनहरूमा तीव्र हिंसाको रूप लिएको छ। बिहीबार सुरु भएको लडाइँ शनिबारसम्म तेस्रो दिन पनि जारी रहँदा ३२ जनाको ज्यान गइसकेको छ भने एक लाख ६० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। थाइल्याण्डमा १९ र कम्बोडियामा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ। दुबै देशले एकअर्कामाथि आक्रमणको आरोप लगाएका छन्, जसले स्थिति थप तनावग्रस्त बनाएको छ।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा शुक्रबार साँझ आपतकालीन बैठक बसेपछि कम्बोडियाका यूएन राजदूत छे केओले बिना शर्त तत्काल युद्धविरामको आह्वान गरे। अर्कोतर्फ, थाइल्याण्डका राजदूत चेरडचाइ चाइभाइभिडले कम्बोडियालाई सबै आक्रामक गतिविधि रोक्न र वार्ता पुनः सुरु गर्न आग्रह गरे। संयुक्त राष्ट्र महासचिवले पनि दुबै पक्षलाई संयमता अपनाउन अपिल गरेका छन्, भने क्षेत्रीय शक्ति मलेसियाले मध्यस्थता गर्न इच्छुक रहेको संकेत दिएको छ।

विवादको मूल कारण औपनिवेशिक कालका नक्सामाथिको असहमति हो, विशेषगरी धार्मिक तथा ऐतिहासिक रूपमा महत्वपूर्ण प्रेह विहेयर मन्दिर क्षेत्र वरपर। यस क्षेत्रका दर्जनौं किलोमिटर लामो सीमामा थाइल्याण्ड र कम्बोडियाबीच लामो समयदेखि विवाद रहँदै आएको छ। सन् २००८ देखि २०११ बीचमा पनि यस्तै झडप भएको थियो, जसमा कम्तीमा २८ जनाको ज्यान गएको थियो।

थाइल्याण्डले कम्बोडियाले अस्पताल, पेट्रोल पम्पलगायत नागरिक पूर्वाधारमा हमला गरेको आरोप लगाएको छ भने कम्बोडियाले थाइल्याण्डले क्लस्टर हतियार प्रयोग गरेको दाबी गरेको छ। पछिल्लो लडाइँ विशेषगरी तब चर्कियो जब थाई सैनिकहरू बारुदी सुरुङमा परेर घाइते भए, जसलाई थाइल्याण्डले हालै रोपिएको भन्दै कम्बोडियामाथि आरोप लगाएको छ – यद्यपि कम्बोडियाले यसलाई अस्वीकार गरेको छ।

हाल स्थिति निकै संवेदनशील बन्दै गएको छ। थाइल्याण्डले बैंककस्थित कम्बोडियाका राजदूतलाई निष्कासन गर्ने निर्णय गरिसकेको छ भने, कूटनीतिक वार्ताका लागि खुला रहेको बताएको छ। तर कम्बोडियाबाट औपचारिक प्रतिक्रिया आएको छैन। यदी यो द्वन्द्व समयमै नियन्त्रणमा ल्याइएन भने क्षेत्रीय स्थायित्वमा गम्भीर असर पर्ने खतरा देखिन्छ। यस्तो अवस्थामा अन्तर्राष्ट्रिय समुदायको भूमिकाले निर्णायक मोड लिन सक्नेछ।