बीमा प्राधिकरणका अध्यक्ष ओझामाथि छानबिन गर्न समिति गठन, स्वतः निलम्बित

तु खबर संवाददाता
२०८२ असार ३०, सोमबार २१:३१
फोटो : ओझा Linkedinआइडी

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।

बीमा ऐनको दफा १२ को उपदफा ३ मा नेपाल सरकारले छानिविन समिति बनाए लगत्तै प्राधिकरणका अध्यक्ष स्वतः निलम्वन हुने व्यवस्था छ । सोही व्यवस्थाका आधारमा ओझा स्वतः निलम्बनमा परेका छन् ।

अनुभव सम्बन्धी नक्कली प्रमाणपत्र पेश गरेकोमा उनको सार्वजनिक आलोचना हुँदै आएको थियो भने उनीमाथि छानबिन गर्न प्रतिनिधिसभामा समेत आवाज उठेको थियो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले ओझाबारे छानबिन समिति बनाएसँगै ओझा स्वतः निलम्बनमा परेका छन् । २०८१ फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई प्राधिकरणको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो । निर्णय सार्वजनिक भएलगत्तै उनले अनुभव सम्बन्धी नक्कली प्रमाणपत्र पेश गरी नियुक्ति लिएको सार्वजनिक भएको थियो ।