रसुवामा बाढीले नेपाल–चीन मितेरी पुल बगायो, उद्दार कार्य जारी
हेटौंडा । नेपाल चीन सिमानामा पर्ने मितेरी पुल गएराति चीनतर्फबाट आएको बाढीले बगाएको छ । पुल बगाएसँगै चीनको केरुङ जोड्ने र नेपालको रसुवागढी जोड्ने मुख्य पुल बगाएको हो ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुब प्रसाद अधिकारीले तु खबरलाई दिएको जानकारी अनुसार, गएराति आएको बाढीले सो पुल बगाएको हो अन्य क्षतिहरु पनि भएका छन् ।
भोटेकोशी नदीमा आएको बाढीले पुल बगाएपछि नेपाल चीन सम्पर्क विच्छेद भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जानकारी दिएको छ । भन्सारमा जाँचपासका लागि राखिएका सवारीसाधन पनि बगाएको छ । त्यस्तै रसुवागढी जलविद्युत आयोजनाको ड्याममा समेत क्षति भएको छ ।
आज बिहान करीव ३ बजेतिर आएको बाढीले पुल बगाएको हो । अन्य विवरणहरु एकिन गर्ने काम भइरहेको छ । थप विवरणहरु आएका छैनन् । उद्दारका निम्ति टोली परिचालन गरिएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
त्यसैगरी बाढीमा १८ जना व्यक्ति सम्पर्कबिहीन भएका छन् । ९ जनाको उद्धार गरिएको छ । नदीको बीचमा फसेका ९ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको सहायक प्रजिअ अधिकारीले बताए ।
गएको १० गते नै जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन सूचना जारी गरेको थियो । चीनका तर्फबाट जोखिम रहेको भनी आवश्यक सावधानी अपनाउन र पूर्वतयारी गर्न सूचित गरिएको थियो । आवश्यक सावधानी नपनाउँदा सवारीसाधनहरु बगाएका छन् ।
