नामटारमा प्रहरीको सर्च, गाँजा सम्बन्धी अभियोगमा एक जना नियन्त्रणमा

तु खबर संवाददाता
२०८२ असार १९, बिहीबार ०८:४५

मकवानपुर । कैलाश गाउँपालिका वडा नं. ९ नामटारबाट प्रहरीले गाँजा खेती गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ गरिएका मध्ये एक जनालाई छोडिएको छ भने अर्का अर्जुन रुम्बालाई प्रहरीले हिरासतमा लिएको छ ।

स्थानीय प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार, सर्चमा प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीको कमाण्डमा टोली नामटार पुगेको थियो । नामटारमा छापा मारेर उनीहरुले २ जनालाई नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा लिएको मध्ये एक जना जनप्रतिनिधिको श्रीमान् रहेको र निजलाई पछि छोडिएको दावी समेत स्थानीयको छ ।

मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले एक जना प्रहरीको नियन्त्रणमा रहेको र अनुसन्धान भइरहेको जानकारी दिए । अनुसन्धान हुँदैछ त्यसपछि मात्रै विस्तृतमा भन्न सकिन्छ, अर्यालले भने ।

तीन वटा गाडीमा प्रहरीको टोली नामटार पुगेको र त्यहाँका घर घर छिरेर छापामारी गरेको स्थानीयले बताएका छन् । प्रहरीले नियन्त्रणमा लिएको भनिएका अर्जुन रुम्बा बिरामी छन् । उनी ६०/६५ वर्ष उमेरका छन् ।

निर्वाचनमा बेला गाँजा खेतीलाई कानूनी मान्यता दिने सम्बन्धमा व्यापक बहस भएको थियो । वर्षभरि निर्वाध गाँजा खेती गर्न दिने प्रहरीले अहिले एकाएक घरघर छापा मारी गरिरहेको छ, स्थानीय भन्छन् ।

यसअघि निर्वाध गाँजा लगाउन दिइएको थियो, तर अहिले किन यसरी छापामारी भइरहेको हो, हामीले बुझ्न सकेका छैनौँ– एक स्थानीय भने । उनका अुनसार, प्रहरीको यो रबैयामा केही कैफियत छ ।