पूर्वप्रधानमन्त्री माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश

तु खबर संवाददाता
२०८२ असार ११, बुधबार २१:५१
file-photo

काठमाडौं । पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दायर मुद्धामा विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पूर्वप्रधानमन्त्री नेपाललाई धरौटीमा छाड्न आदेश दिएको हो । तोकिएको धरौटी बुझाएमा नेपाल थुनामा जानु पर्दैन ।

यसअघि विशेष अदालतमा नेपाल आफै निवेदन लिएर पुगेका थिए । उनको बयान भएको थियो भने सो बयानमा उनले मन्त्रिपरिषद्को निर्णय उपर अख्तियारले मुद्धा चलाउन नसक्ने, अख्यिारको कार्यक्षेत्रमा नपर्ने दावी गरेका थिए ।

बयान सकिएपछि आजै भएको थुनछेक बहसमा आयोग र नेपालका तर्फबाट ५/५ जना अधिवक्ताहरुले बहस गरेका थिए । अख्तियारले गत जेठ २२ गते पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार दावी गर्दै नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दर्ता गरेको थियो ।