कैलाशले ल्यायो नीति तथा कार्यक्रम, आगामी आर्थिक वर्षको बजेट ५३ करोड ८६ लाख

तु खबर संवाददाता
२०८२ असार १०, मंगलवार १८:४७

मकवानपुर । कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्षको निम्ति नीति तथा कार्यक्रमसहित ५३ करोड ८६ लाखको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको सभाध्यक्षतामा मंगलबार भएको गाउँसभामा उपाध्यक्ष बालकुमार मल्लले गाउँपालिकाको मुख्य नारालाई आत्मसात् गर्दै नीति तथा कार्यक्रम ल्याइएको घोषणा गरे ।

आज प्रस्तुत गरिएको नीति तथा कार्यक्रम अनुसार, पुजीँ, प्रविधि, सीप र अनुभवलाई स्थानीयस्तरमा उपयोग गर्ने उद्देश्यले युवाहरुलाई लक्षित कृषि कार्यमा उत्प्रेरित गराइने छ ।

नीति तथा कार्यक्रम र बजेटपछि पत्रकारहरुसँग कुरा गर्दै गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले आगामी बर्षको बजेटले गाउँपालिकालाई समुन्नत बनाउने बताए ।
प्रस्तुत कार्यक्रम अनुसार, मासिक रुपमा हाट बजार संचालन गर्ने, खानेपानीका निम्ति एक घर एक धारा नीति आवलम्बन गरिने, कृषक परिचय पत्र वितरण र पशु बीमामा अनुदानलाई प्राथमिकतामा राखिने छ ।

त्यस्तै चेली प्रोत्साहन कार्यक्रम, अध्यक्षसँग विपन्न कार्यक्रम, उपाध्यक्षसँग जनश्रम दान कार्यक्रम, अध्यक्षसँग किशोरकिशोरी अन्तरक्रिया कार्यक्रम, जेष्ठ नागरिकसँग जनप्रतिनिधि कार्यक्रमहरुलाई थप सुदृढ गरि निरन्तरता दिइने नीति तय गरिएको छ ।

आगामी आर्थिक वर्षमा दीर्घ रोगका कारण समस्यामा रहेका नागरिक लक्षित कैलाश बन्दैछ, बाआमालाई सञ्चै छ भन्ने कार्यक्रमसहित स्वास्थ्य शिविरहरु गर्ने, गर्भवती तथा सुत्केरी पोषण प्रवद्र्धन तथा रक्षा कार्यक्रम गरिने नीति कार्यक्रममा समावेश गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष मल्लले ५३ करोड ८६ लाख २० हजारको बजेट प्रस्तुत गरेका छन् ।