मध्यपूर्वका लाखौं नेपालीको ज्यान जोखिममा

तु खबर संवाददाता
२०८२ असार ८, आईतवार १८:४१

काठमाडौँ । इरान–इजरायल युद्ध चुलिंदै गएपछि त्यसको प्रत्यक्ष असर मध्यपूर्वमा रोजगारीका लागि गएका लाखौं नेपाली कामदारमाथि देखिन थालेको छ। इरान र इजरायलबीच चलेको हालसम्मकै ठूलो सैन्य झडपमा अमेरिकासमेत खुलेर सहभागी भएसँगै यो क्षेत्र पुनः भीषण द्वन्द्वको केन्द्र बन्न थालेको हो ।

इरानले इजरायलका महत्वपूर्ण सैन्य तथा रणनीतिक केन्द्रहरूमा हमला गरेपछि इजरायलले पनि इरानका आणविक केन्द्रमाथि सशक्त प्रतिआक्रमण गर्‍यो। त्यसै क्रममा अमेरिकाले समेत आज विहानै इरानका तीनवटा मुख्य आणविक केन्द्रहरू फोर्डो, नातान्ज र इस्फाहानमा विश्वकै शक्तिशाली भनिने जिबियु ५७ एमओपी बम प्रहार गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन्।

अमेरिका समेत खुला रुपमा युद्धमा होमिएपछि इरान–इजरायल द्वन्द्वले विश्व अर्थतन्त्रमै ठुलो प्रभाव पार्ने देखिएको छ। इरान रसिया र चीनको प्रत्यक्ष समर्थनमा रहेको अवस्थामा यो द्वन्द्व अझ खतरनाक बन्दै गएको आकलन गरिएको छ। यसले गर्दा मध्यपूर्वका दर्जनौं देशमा कार्यरत लाखौं नेपाली आप्रवासी कामदार थप जोखिममा परेका छन्।

ओमान, कतार, साउदी अरब, युएई, बहराइन र कुवेत लगायतका मुलुकमा रोजगारीमा रहेका नेपालीहरू हाल अत्यन्त तनावग्रस्त अवस्थामा पुगेका छन्। उनीहरु बसोबास गरिरहेका ठाउँ युद्धको प्रत्यक्ष प्रभाव क्षेत्र हुन सक्ने आकलन गरिएको छ। अमेरिकी आक्रमणपछि इरानले कठोर प्रतिवाद गर्ने संकेत दिएकाले अमेरिका र पश्चिमेली गठबन्धनका सैनिक बेस क्याम्पहरू इरानको निशानामा पर्ने सम्भावना बढेको छ।

अमेरिकाले मध्यपूर्व क्षेत्रमा करिब एक दर्जन सैन्य बेसहरू सञ्चालनमा राखेको छ। यदि यिनै बेसहरूमाथि इरानले आक्रमण बढाएमा ती देशहरूमा रहेका सर्वसाधारण मजदुरहरू समेत प्रत्यक्ष युद्धको जोखिममा पर्ने देखिएको छ ।

अहिले नै कुवेत, कतार र साउदी अरबमा सुरक्षा सतर्कता बढाइएको बताइन्छ। यता, युद्धले भीषण रूप लिँदै जाँदा नेपाल सरकारले भने अहिलेसम्म कुनै ठोस योजना सार्वजनिक गरेको छैन। युद्ध थप चर्किएमा नेपालीहरूलाई उद्धार गर्न आवश्यक पहल तत्काल नगरे ठूलो जनधनको क्षति हुन सक्ने चिन्ता परिवारजनदेखि मानवअधिकारकर्मीहरूसम्मले व्यक्त गरेका छन्।

विदेशमा रहेका नेपालीहरू अधिकांशले ठूलो ऋण लिएर विदेशिएका छन्। युद्धका कारण रोजगारी गुम्ने र स्वदेश फर्कनै पर्ने अवस्था आउँदा आर्थिक र मानसिक दुवै संकट झनै बढ्ने देखिएको छ ।

अब युद्ध कहाँ पुगेर रोकिन्छ भन्ने निश्चित छैन। तर मध्यपूर्व तनावग्रस्त बनेसँगै त्यहाँ कार्यरत लाखौं नेपालीको ज्यान दिनहुँ जोखिममा पर्दै गएको स्पष्ट देखिएको छ । – बीमा पोष्टमा विश्लेषण छ ।