भारतको बिमान दुर्घटनामा पूर्वमुख्यमन्त्रीसहित २०४ यात्रुको मृत्यु भएको पुष्टि

भारतको अहमदाबाद शहरमा एयर इन्डियाको एक अन्तर्राष्ट्रिय उडान भरिरहेको यात्रु विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ। दुर्घटनामा परेका मध्ये ४१ जनाको अस्पतालमा उपचार भइरहेको छ भने उद्धार तथा राहत कार्य अहिले पनि जारी छ।
बिहीबार अपराह्न सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लण्डनका लागि उडेको एयर इन्डियाको बी७८७ विमान भीटी-एएनबी फ्लाइट नम्बर एआई १७१ ले दिउँसो १ ३८ बजे उडान भरेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनापछि विमान दुई टुक्रा भएको निकै ठूलो आगोको मुस्लो देखिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले उल्लेख गरेको छ ।
विमान ठोक्किएको पाँचतले भवन अहमदाबादको अस्पतालका डाक्टरहरुको आवास भएको बताइएको छ । विमान खसेर आगलागी हुँदा १५ जना डाक्टर घाइते भएका विवरणहरु आएका छन् ।
एयर इन्डियाद्वारा जारी गरिएको विज्ञप्तिका अनुसार, उक्त विमानमा १६९ जना भारतीय नागरिक, ५३ जना बेलायती नागरिक, १ जना क्यानडाली नागरिक र ७ जना पोर्चुगलका नागरिक थिए ।