जेठ १५ गते सरकारले नै हिंसा भड्काउन खोजेको जनआन्दोलन समितिको आरोप

तु खबर संवाददाता
२०८२ जेष्ठ १२, सोमबार ०७:४०

काठमाडौं । आगामी जेठ १५ गते राजसंस्था पुनर्स्थापनाको लागि आन्दोलनको घोषणा गरेको संयुक्त जनआन्दोलन परिचालन समितिले सरकारले नै हिंसा भड्काउन खोजेको आरोप लगाउँदै भत्र्सना गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते राजावादीहरुको आन्दोलन असफल पार्न एमालेका सबै कार्यकर्ताहरुलाई राजधानी कब्जा गर्न निर्देशन दिएका थिए ।

संयुक्त जनआन्दोलन परिचालन समितिका प्रबक्ता स्वागत नेपालले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको नै शान्ति र अमन चयन खल्बिलिने अभिव्यक्ति दिएको भन्दै सरकारको विरोध गरिएको हो ।

प्रधानमन्त्री अभिव्यक्तिलाई प्रबक्ता नेपालले भुत्ते शासकको लुते अभिव्यक्तिको संज्ञा दिएका छन् । प्रबक्ता नेपालले शान्तिपूर्ण आन्दोलनमा हिंसा मच्चाउन खोजिए त्यसको कडा जवाफ दिने समेत चेतावनी दिएका छन् ।

यही जेठ १५ गते गणतन्त्र दिवस मनाइने दिन नेपालमा राजसंस्था पुनर्स्थापना गर्ने भन्दै विभिन्न अभियान्ताहरुले सामूहिक रुपमा जनआन्दोलन परिचालन समितिमा आबद्ध भई राजधानी काठमाडौं केन्द्रीत आन्दोलन गर्दैछन् ।