प्राधिकरणका अध्यक्ष ओझाको मुद्दा जेठ १९ गतेदेखि सुनुवाई हुने

तु खबर संवाददाता
२०८२ जेष्ठ ९, शुक्रबार १४:१४

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको योग्यता सम्बन्धी विवादमा सर्वोच्च अदालतले यही जेठ १९ गतेदेखि सुनुवाई हुने भएको छ ।

सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समिति वा अर्थमन्त्रालय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको नियुक्ती सम्बन्धी सक्कल फाइल महान्याधिवक्ताको कार्यालयमार्फत झिकाई जेठ १९ गते पेशी तोकी इजलासमा पेश गर्न आदेश जारी भएको छ ।

सो आदेश अनुसार अब पुनः अन्तरिम आदेश वा अन्तिम आदेशका लागि छलफल हुनेछ ।

ओझालाई उनको योग्यताबिना नै अध्यक्षमा नियुक्त गरिएकोले निजको नियुक्ति बदर गरी नयाँ प्रकृया अघि बढाउन अधिवक्ता इन्दिरा धमलाले सर्वोच्च अदालतमा रिट दर्ता गरेकी थिइन् ।

अध्यक्षको रुपमा कामकाज नगर्नु नगराउनु भनी अन्तरिम आदेशसमेत माग भएकोमा सो आदेश जारी गर्ने कि नगर्ने भनी छलफलका लागि सक्कल मिसिल झिकाउने आदेश भएको हो ।