ठगीको आरोपमा मकवानपुरका रुम्बासहित दुई जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
ब्रुनाई, क्रोएसिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको प्रहरीले आइतबार मकवानपुरका एकसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा ताप्लेजुङको फुङलिङ नगरपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने २९ वर्षीय प्रज्ञान उप्रेती र मकवानपुरको थाहा नगरपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ३२ वर्षीय विश्वराज रूम्बा रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले प्रज्ञानलाई काठमाडौं कोटेश्वरबाट र विश्वराजलाई कलंकीबाट पक्राउ गरेको हो ।
प्रहरीक अनुसार, पक्राउ परेकामध्ये प्रज्ञानले १ जना पीडितबाट ५ लाख रूपैयाँ र विश्वराजले १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाएको जनाइएको छ ।
