वीपी विचार समाज मकवानपुरको आयोजनामा वृक्षारोपण कार्यक्रम

तु खबर संवाददाता
२०८१ भाद्र २४, सोमबार १८:२०

मकवानपुर । कांग्रेसका संस्थापक नेता एवम् नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको १११ औँ जन्मजयन्ती मकवानपुरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । सोमबार वीपी विचार समाज मकवानपुरले वीपी जन्मजयन्तीको अवसर पारेर वृक्षारोपण तथा विचार गोष्ठि कार्यक्रमको आयोजना गरेको छ ।

वीपी विचार समाज मकवानपुरका अध्यक्ष बिनोदचन्द्र कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन काफ्लेको प्रमुख आतित्थ्यता रहेको थियो । मन्त्री काफ्लेले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ सरस्वतीमा रहेको वीपी बाटीकामा रहेको वीपीको अर्धकदको शालिकमा माल्यार्पण गर्दै कार्यक्रमको सुरुवात गरेका थिए ।

कार्यक्रममा बोल्दै मन्त्री काफ्लेले नेपाली राजनीतिमा स्व।कोइरालाको योगदान चिरस्मरणीय रहेको बताए । उनले वीपीको प्रेरणा र मार्गदर्शन कै कारण नेपालमा भएका हरेक परिवर्तनमा कांग्रेसले नेतृत्वदायी भूमिका खेल्न सकेको दावी गरे । मन्त्री काफ्लले वर्तमान अवस्थामा वीपीको विचार झनै सान्दर्भिक हुँदै गएको उल्लेख गर्दै उनको पदमार्गमा पूर्णतः हिड्न नसकेपनि पछ्याउन छोड्नु नहुने बताए । वीपीको बवचारबाट च्युत भए कांग्रेसको अस्तित्व नै संकटमा पर्ने उनको चेतावनी थियो ।

‘वीपीले ठुल्ठुला सपना देख्नुभएको थिएन, सामान्य नागरिकको जिवन यापनको शैलिमा परिवर्तन उहाँको सपना थियो । जनताले पनि हामीबाट ठुल्ठुला अपेक्षा राखे जस्तो मलाई लाग्दैन । सानै तर सकरात्मक काम गर्न सक्यौं भने जनता खुशी हुन्छन्,’ उनले भने । मन्त्री काफ्लेले प्रदेश सरकारले पनि जनअपेक्षा अनुसारकै काम गर्ने दावी गरे ।

कार्यक्रमको अवसरमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको अनाथ अपाङ्ग बाल पुर्नस्थापना केन्द्रको परिसरमा रहेको वीपी बाटिकामा १११ प्रकारका जडिबुटीका विरुवा रोपिएको थियो । समाजका सविच हरिप्रसाद पौडेलले सहजिकरण गरेको कार्यक्रममा कांग्रेस मकवानपुरका कार्यवाहक सभापति धर्म लामिछाने, सचिव इश्वर पाठक, सह सचिव इन्दिरा न्यौपाने, महासमिति सदस्य राधा कोइराला, नेपाल तरुण दलका जिल्ला अध्यक्ष लिलाराज सापकोटा सन्तोष, नेपाल महिला संघ मकवानपुरकी सचिव निलम देवकोटा, कांग्रेस जिल्ला सदस्य तारा कार्की, घनश्याम नेपाल, जिपी फाउन्डेशनका जिल्ला संंयोजक नारायण लम्साल, कृष्णप्रसाद भट्टराई स्मृति केन्द्रका अध्यक्ष विजेन्द्र अग्रवाल, समाजका सल्लाहाकार कृष्णप्रसाद दाहाल लगाएतको उपस्थिति रहेको समाजका उपाध्यक्ष प्रदिप कोइरालाले जानकारी दिए ।