अवैध लागूऔषधसहित दुई जना पक्राउ
काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले दाङ र बाँके जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले दाङको घोराही उपमहानगरपालिका–१६, बर्धन्ने बस्ने २३ वर्षीय बिक्रम घर्ती मगरलाई अवैध लागूऔषधसहित पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले घरबाटै पक्राउ गरेको हो ।
प्रहरीले मगरलाई ब्राउनसुगर ८ सय ३० मिलिग्राम, ट्रामाडोल १ हजार २५ पिस र नगद ६० हजार ५ सय रुपैयाँसहित बुधबार दिउँसो पक्राउ गरेको जनाएको छ ।
यस्तै, बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह चेक प्वाईन्टबाट अवैध लागूऔषध ब्राउनसुगर ७ सय मिलिग्रामसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–१७ परस्पुर बस्ने २० वर्षीय तिलक नाग रहेका छन् ।
उनलाई बुधबार बेलुकी इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरिएको हो ।
ती दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
