पैसा सापटी मागेको विषयलाई लिएर पुरुषको हत्या

तु खबर संवाददाता
२०८१ असार ३१, सोमबार १४:४१

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ चालिसेबगर बस्ने ३० वर्षीय टिका बहादुर बुढाथोकीको हत्या भएको छ । सापटी पैसा मागेको विषयलाई लिएर बुढाथोकीको हत्या भएको प्रहरीले जनाएको छ ।

बुढाथोकीको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई आइतबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २६ वर्षीय आशमान वाईबा र ३८ वर्षीय भुन्टे भन्ने ज्ञान बहादुर वाईबा रहेका छन् ।

प्रहरीका अनुसार, बुढाथोकीसँग सापटी पैसा मागेको विषयमा विवाद हुँदा उनीहरूले सोही ठाउँस्थित मिलनचोकमा काठको चिर्पटले प्रहार गरेका थिए ।

चिर्पट प्रहारबाट गम्भीर घाइते भएका बुढाथोकीको बस्तिपुर स्वास्थ्य चौकी हायुटार हुँदै जिल्ला अस्पताल सिन्धुलीमा थप उपचारको क्रममा मृत्यु भएको थियो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय बस्तिपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।