श्रोत नखुलेको भारतीय रुपैयाँ तथा चरेससहित पक्राउ

तु खबर संवाददाता
२०८१ असार २२, शनिबार ११:४८

बारा । बाराको कलैया उपमहानगरपालिका–१० स्थित मटिअर्वा र शनिश्चरेबाट स्रोत नखुलेको भारतीय रुपैयाँ तथा चरेससहित तीन जना पक्राउ परेका छन् । उनीहरुलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

असार २१ गते सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाले २ लाख ५ हजार ६ सय भारतीय रुपैयाँसहित भारत घर बताउने अन्दाजी ३६ वर्षीय सत्येन्द्र कुमारलाई पक्राउ गरेको हो । बीआर २८ एडी ९२५८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनको साथमा भारतीय नोट बरामद गरेको थियो ।

त्यस्तै, असार १८ गते सोही गुल्मले करिब १० किलो २ सय ३० ग्राम चरेससहित भारत घर बताउने अन्दाजी २१ वर्षीय भरत साह र १८ वर्षीय मनिष कुमारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

बीआर ०५ बीई ०७६७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूले मोटरसाइकलको हेल्मेट र सिटमुनि लुकाई ल्याउँदै गरेको अवस्थामा चरेस फेला परेको हो ।

पक्राउ परेका उनीहरुलाई बरामद रकम, चरेस र मोटरसाईकलसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाएको जनाइएको छ ।