बागमती प्रदेश सभामा कांग्रेसको अवरोध

तु खबर संवाददाता
२०८१ असार ६, बिहीबार १५:३०

मकवानपुर । प्रतिपक्ष दलहरुले बागमती प्रदेश सभा बैठकमा अवरोध गरेका छन् । बजेट पुनः लेखनको माग गर्दै प्रतिपक्ष दलहरुले संसद् अवरोध गरेका हुन् ।

प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट सन्तुलित नभएको र आय व्ययको विवरण नै नमिलेको भन्दै बिहीबार कांग्रेस र राप्रपाका सांसदहरूले विरोध गरेका हुन् । संसद् बैठकमा प्रतिपक्ष दलका सांसदहरूले बजेट सिस्टमलाई नै उलङ्घन गरेर बजेट कार्यक्रम परक पर्ने गरी पुस्तिका ल्याएको भन्दै विरोध गरेका हुन् ।

उनीहरूले संसद् बैठकमा नाराबाजी समेत गरेका छन् । सांसदहरूले ‘बजेट पुनःलेखन गर, बजेट सन्तुलित बजेट गर, बजेटलाई समावेशी गर, बजेटमा आर्थिक अराजकता गर्न पाइँदैन’ जस्ता नारा लगाएका थिए ।

प्रतिपक्ष दलका सांसदहरुको विरोधपछि सभामुख भुवनकुमार पाठकले दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए । तर, ३ः३० बजेसम्म पनि बैठक सुरु भएको छैन ।