अवैध लागूऔषधसहित चार जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट चार जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, कञ्चनपुर र रुपन्देही जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ६ सय एम्पुल, फेनारगन ६ सय एम्पुल, नोफिन ६ सय एम्पुल र नाईट्राभेट ३ हजार ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–४ बस्ने १९ वर्षीय दिपेश तामाङ रहेका छन् । उनलाई बुधबार बिहान प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ६५९४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरिएको हो ।
यसैगरी काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ८ सय ८८ एम्पुल, प्रोमोथाइजिन हाइड्रोक्लोराइड ८ सय ८८ एम्पुल र बुप्रेनोर्फिन ८ सय ८८ एम्पुलसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले नवलपरासी रामनगर नगरपालिका–१ बस्ने २२ वर्षीय प्रितम सहनीलाई बुधबार बिहान उक्त लागूऔषधसहित पक्राउ गरेको हो । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले परासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख १६८६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई पक्राउ गरेको हो ।
यस्तै, कञ्चनपुरको भिमदत्र् नगरपालिका–९, ब्रम्हदेवबाट अवैध लागूऔषध खैरो हेरोइन ६० मिलिग्रामसहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई गएराति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ब्रम्हादेवबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी, रूपन्देहीको तिलोत्तमा नगरपालिका–२ योगिकुटी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ८ सय ३५ मिलिग्रामसहित बुटवल उपमहानगरपालिका–११ कालीकानगर बस्ने २८ वर्षीय विजय श्रेष्ठलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको उनलाई पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
