हत्या गरेको आरोपमा तीन जना पक्राउ

तु खबर संवाददाता
२०८१ असार ४, मंगलवार ०९:३४

बैतडी । पाटन नगरपालिका–६ का ४५ वर्षीय वीरभान सिंह विष्टको हत्याको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पाटन–६ का २६ वर्षीया भागरथी विष्ट, पाटन–१ का २२ वर्षीय राजेन्द्र भट्टराई र २३ वर्षीय किशोर भट्टराई रहेका छन् ।

प्रहरीका अनुसार, पक्राउ परेकामध्ये भागरथीलाई घरबाटै, राजेन्द्र र किशोरलाई भागिरहेका अवस्थामा डडेल्धुराको भत्काडाबाट पक्राउ गरिएको हो ।

तीन दिनदेखि बेपत्ता रहेका वीरभानको शव प्लास्टिकले बेरेको अवस्थामा सोमबार दिउँसो पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत घाङल खोलामा फेला परेको थियो । मृतक विष्ट असार १ गतेदेखि सम्पर्कविहीन थिए ।

विष्टलाई बेपत्ता पारेको भन्दै आफन्तले सोमबार इलाका प्रहरी कार्यालय पाटनमा भागरथीको नाममा उजुरी दिएका थिए । त्यसपछि निवेदन दिएको केही समयपछि भागरथीलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो ।

पक्राउपछि भागरथीले आफूले नै वीरभानको चिर्पटले हानेर हत्या गरेको प्रहरी समक्ष बयान दिएको प्रहरीको भनाई छ ।

यही असार १ गते शनिबार रातिको समयमा घरमा आएर अपशब्द प्रयोग गरेपछि सहन नसकेर चिर्पटले हानेर हत्या गरेको भागरथीले प्रहरीसमक्ष बयान दिएको जनाइएको छ ।

विस्टको शव व्यवस्थापनमा सहयोग गरेको आरोपमा राजेन्द्र र किशोरलाई पनि पक्राउ गरेको हो । शव व्यवस्थापनमा सहयोग गरेका थप एक जना अझै फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

मृतक विष्टको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको र घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।