अवैध सुन र नगदसहित चिनियाँ नागरिक पक्राउ

तु खबर संवाददाता
२०८१ असार ३, सोमबार १८:१९
file-photo

काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध तिनचुली चारघरे डेरा गरी बस्ने चिनियाँ नागरिक बताउने ३७ वर्षीय शेरब ग्याल्मो भन्ने सोनाम गुरूङ पक्राउ परेका छन् ।

उनलाई ९९९ दशमलव ९ गोल्ड १ केजी लेखिएको अवैध सुन ६ थान र नगद ४८ लाख रूपैयाँसहित आइतबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

अवैध सुन र डिजिटल मुद्रा (युएसडीटी) को कारोबारमा संलग्न उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, गत २ साउन २०८० मा बरामद भएको ६० केजी अवैध सुनको थप अनुसन्धानको क्रममा अवैध सुन खरिद बिक्री बापत अवैध सुनको भुक्तानी डिजिटल मुद्रा (युएसडीटी) मार्फत् व्यक्तिहरुको खोजी गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो ।

प्रहरीले उनको कोठाबाट उक्त सुन र नगद बरामद गरेको हो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।