कुकुरको हत्या गर्ने तीन जना पक्राउ
इलाम । कुकुरको बच्चालाई कुट्दै जिउँदै खाल्डोमा पुरेर हत्या गरेको आरोपमा प्रहरीले इलामबाट तीन जनालाई पक्राउ गरेको छ ।
पशु कल्याण संघ काठमाडौंले दिएको जाहेरीको आधारमा उनीहरुलाई इलामको देउमाई नगरपालिकाको जितपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
प्रहरीका अनुसार, भिडियो बनाउने हेतुले ती युवकहरुले कुकुरको बच्चालाई तड्पाई–तड्पाई हत्या गरेको भिडियो भाइरल भएको थियो । सुगम मोराहाङ लिम्बू नामको फेसबुक एकाउन्टमा उक्त भिडियो पोस्ट भएको थियो, जुन अहिले हटाइएको छ ।
संघले काठमाडौंबाट प्रतिनिधि पठाएर जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दर्ता गराएको थियो । सोही उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
नेपालको प्रचलित कानुनले कुनैपनि पशु प्राणीलाई निर्दयी व्यवहार गर्न, क्रुरतापूर्वक हत्या गर्न बन्देज गरेको छ । यस्ता कृत्य गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान रहेको छ ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
