लागूऔषधसहित ११ जना पक्राउ

तु खबर संवाददाता
२०८१ जेष्ठ ३२, शुक्रबार १५:५१
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले देशको विभिन्न जिल्लाबाट लागूऔषधसहित ११ जनालाई पक्राउ गरेको छ । प्रहरीले पर्सा, झापा, कैलाली र मोरङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले पर्साको वीरगन्ज महानगरपालिका–१५ बसपार्कबाट खैरो हेरोइन करिब १ सय २ ग्रामसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारतको मोतिहारी ग्राम लालाछापरा– १ बस्ने २५ वर्षीय महमद नेजामुदीनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।

उनलाई वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, बाराबाट वीरगञ्जतर्फ जाँदै गरेको बिआर ०५ एवाई १३४६ नम्बरको कारलाई जाँच गर्ने क्रममा चालक महमदलाई उक्त लागूऔषधसहित पक्राउ गरिएको हो ।

त्यस्तै, झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेची पुलबाट खैरो हेरोइन ३ ग्राम ४ सय ८० मिलिग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका–३ बस्ने ३० वर्षीय विनोद ढुङ्गेल रहेका छन् । उनलाई बिहीबार दिउँसो प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । भारतको पानी टंकीबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई खोजतलास गर्दा सो परिमाणको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उता, कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहरास्थित सडकबाट ३ सय १० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले बिहीबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका– ७ बस्ने २७ वर्षीय सज्जित राना रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी, कैलालीको गोदावरी नगरपालिका–३ चौकिडाँडाबाट खैरो हेरोइन १ ग्राम ३ सय ३० मिलिग्राम र माटोजस्तो देखि ने धुलो पदार्थ ३ ग्राम ६ सय ३० मिलिग्रामसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुर कृष्णपुर नगरपालिका–६ मझगैई बस्ने २५ वर्षीय आषिस चौधरी रहेका छन् । उनलाई बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै, मोरङको सुनवर्षी नगरपालिका–९ डाईनिया बजारबाट खैरो हेरोइन ५६ ग्राम १३ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत विहार अररिया, पोखरिया पञ्चायत–३ बस्ने १९ वर्षीय राहुल राजा र मोरङ सुनबर्षी नगरपालिका–९ बस्ने २४ वर्षीय आदर्श दास रहेका छन् । इलाका प्रहरी कार्यालय रंगेली र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यता सुनसरीको धरान उपमहानगरपालिका– ११ बानडाँडा बस्ने २२ वर्षीया आयुषा राई पनि १ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् । बिहीबार बेलुकी इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घरबाट उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

त्यस्तै, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२ बागेश्वरी मन्दिर परिसरबाट १० ग्राम ब्राउनसुगरसहित भारत बहराईच बस्ने २ जना किशोर पक्राउ परेका छन् । बिहीबार बेलुका जिल्ला प्रहरी कार्यालय बाँके र लागू औषध नियन्त्रण ब्युरो नेपालगन्जबाट संयुक्त रूपमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

त्यस्तै चितवनको भरतपुर महानगरपालिका–४ अनुपम टोल डेरा गरी बस्ने सोही महानगरपालिका–१० घर भएका २७ वर्षीय बाबु भन्ने सुशील लामालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ । उनलाई डेराबाट १२ किलो गाँजासहित बिहीबार साँझ पक्राउ गरेको जनाइएको छ ।

उता, बर्दियाको बढैयाताल गाउँपालिका–८ नयाँबस्तीस्थित सडकबाट अवैध लागूऔषध खैरोहिरोइन ४ ग्राम ८ सय मिलिग्रामसहित एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–९ माछगढ बस्ने २२ वर्षीय खडकबहादुर थापा रहेका छन् । उनलाई बिहीबार राति प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गर्दा पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।