ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ
कास्की । कास्कीबाट सुनजस्तो पहेँलो रङको धातु देखाई प्रलोभनमा पारी नगद ४ लाख रूपैयाँ ठगी गरेको अभियोगमा बुधबार दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा भारत लखनाउ सरदर बजार घर बताउने ७१ वर्षीया प्रेमा देवी र ४२ वर्षीय रामनारायण सुलेङकी रहेका छन् ।
उनीहरूले पोखरा महानगरपालिका–८ सृजनाचोकमा प्लाष्टिक पसल संचालन गरी बस्ने ५२ वर्षीय पुरूषलाई सुन जस्तो धातु देखाई प्रलोभनमा पारी उक्त रकम लिई फरार भएका थिए ।
फरार भएका उनीहरुलाई वडा प्रहरी कार्यालय बैदाम समेतबाट खटिएको प्रहरीले उक्त नगद र धातुसहित सोही महानगरपालिका–१७ बरको बोटबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
