विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

तु खबर संवाददाता
२०८१ जेष्ठ २३, बुधबार ०९:०६
सांकेतिक तस्बिर

काठमाडौं । वैदेशिक रोजगारीको खोजीमा रहेका युवाहरूलाई विदेश पठाउँछौं भनेर ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुकुम पश्चिम घर भएका ३९ वर्षीय रुपेश राज गिरी, स्याङ्जा घर भएका ४५ वर्षीय राजु ढकाल, र धनुषा घर भएका २२ वर्षीय युवराज ठाकुर रहेका छन् ।

आकर्षक तलब आउने काम मिलाइदिने गरी विदेश पठाउँछौँ भनेर रकम लिएपछि आरोपीहरू फरार भएका थिए ।

प्रहरीका अनुसार, काठमाडौंको सुकेधारा बस्ने गिरीले रोमनिया पठाउँछु भनेर देव सिंह महतासहितका पीडितहरूबाट ८ लाख नगद लिएर फरार भएका थिए ।

यस्तै, राजु ढकालले दुबई पठाउँछु भनेर २ लाख ५० हजार र युवराज ठाकुरले पोल्याण्ड पठाउँछु भनेर ८ लाख ठगी गरेर फरार भएका थिए ।
पक्राउ परेका उनीहरूलाई वैदेशिक रोजगार विभागमा बुझाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।