अनलाइनमार्फत् ठगी गरेको अभियोगमा पक्राउ

तु खबर संवाददाता
२०८१ जेष्ठ २२, मंगलवार १०:०६

काठमाडौं । अनलाइनमार्फत रकम ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौंबाट शुक्रबार एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको घोरही उपमहानगरपालिका–९ घर भई काठमाडौं मित्रनगर बस्ने २१ वर्षीय विरबल घर्ती मगर रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बानेश्वरबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, विभिन्न सामाजिक सञ्जालको दुरूपयोग गरी पीडितलाई आइफोन, घडी, लेडिज ब्याग, सुनका गरगहना, डलरसहितको लगेज कुरियर मार्फत् पठाएको छु भनि कस्टम चार्ज, एण्टी मनी लाउन्डरिङ्ग जस्ता प्रयोजनमा चार्जको लागि रकम लाग्छ भनी बैंक खातामा १६ लाख ६२ हजार रूपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएपछि उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको जनाइएको छ ।