मोटरसाइकल चोरीको आरोपमा चार जना पक्राउ

तु खबर संवाददाता
२०८१ जेष्ठ १८, शुक्रबार १७:३१

काठमाडौं । मोटरसाइकल चोरीको आरोपमा काठमाडौंबाट प्रहरीले चार जनालाई पक्राउ गरेको छ । बिहीबार ट्राफिक प्रहरी कार्यालयले काठमाडौंका विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका २ घर भई हाल काठमाडौँको अनामनगर बस्ने २२ वर्षीय विशाल रैका, कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका ६ घर भई कपन बस्दै आएको २६ वर्षीय नवीन शाही, सोही गाउँपालिका ५ घर भई हाल कपन बस्ने ३० वर्षीय रमेश बम र कालिकोटको रास्कोट नगरपालिका ५ घर भई नयाँ बानेश्वर बस्ने मुकुन्द शाही रहेका छन् ।

ट्राफिक प्रहरीले काठमाडौंको पद्मोदय मोडबाट विशाललाई बिहीबार नियन्त्रणमा लिएको थियो । वास्तविक नम्बर परिवर्तन गरी लु ६८ प ०९ ४३ नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकलसहित उनलाई पक्राउ गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

विशाललाई सोधपुछ गर्दा उक्त मोटरसाइकल नवीनले दिएको खुलेपछि लगातार ३ जना पक्राउ परेका थिए ।

से ५ प ८० ३८ नम्बर राखी चलाइरहेको अवस्थामा चालक रमेशसहित पछाडी सवार नवीनलाई काठमाडौँको भृकुटी मण्डपबाट नियन्त्रणमा लिइएको छ । उनीहरुले ०९४३ नम्बरको मोटरसाइकल मुकुन्दले उपलब्ध गराएको बताएका थिए । मुकुन्द काठमाडौंको बानेश्वर खरिबोटबाट पक्राउ परेका थिए ।

विशालले चलाएको ०९४३ नम्बरको मोटरसाइकलको वास्तविक नम्बर मधेस प्रदेश ०३–०२५ प ७७ ९६ नम्बरको मोटरसाइकल काठमाडौंको काँडाघारीबाट हराएको र रमेशले चलाएको ८०३८ मोटरसाइकलको वास्तविक नम्बर बाग्मती प्रदेश ०२–०३४ प ८१ ४५ हो ।

सो मोटरसाइकल ललितपुरबाट हराएको भनी पीडितले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।

नियन्त्रणमा लिइएका चारै जनालाई अनुसन्धान तथा कारबाहीका लागि शुक्रबार प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको छ ।