कुटपिट गरी बुवाको हत्या, छोरो पक्राउ

तु खबर संवाददाता
२०८१ जेष्ठ १७, बिहीबार १८:०७

दैलेख । दैलेखको दुल्लु नगरपालिका–१२ दहसुनार टोल बस्ने ६१ वर्षीय मनबिरे सुनारको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मनबिरेकै छोरा २६ वर्षीय गणेश सुनारलाई बिहीबार बिहान पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार, गणेशले जेठ १ गते राति ढुङ्गा र हथौडा प्रहार गर्दा मनबिरे गम्भीर घाइते भएका थिए ।

घाइते मनबिरेको दुल्लु अस्पताल दैलेख हुँदै कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।