हेटौंडामा १७ औं गणतन्त्र दिवस मनाइयो

तु खबर संवाददाता
२०८१ जेष्ठ १५, मंगलवार १८:५५

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा १७ औं गणतन्त्र दिवस भव्यताका साथ मनाइएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले मंगलबार विशेष कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस मनाइएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाको प्राङ्गणमा आयोजित उक्त कार्यक्रमको प्रदेश प्रमुख यादवचन्द्र शर्माले उद्घाटन गरेका थिए । सो अवसरमा प्रदेश प्रमुख शर्माले मुलुकलाई दिगो विकासको लक्ष्यमा अघि बढाउन प्रदेश सरकार र सबै दलहरुबीच समन्वय र सहकार्यको जरुरी रहेको औल्याए ।

उनले राष्ट्रमा दिर्घकालिन शान्ति, राजनीतिक स्थायित्वको लागि र गणतान्त्रिक व्यवस्थाले सबै नेपालीलाई सम्मान व्यवहार गरेको भन्दै अब जनतालाई भौतिक पूर्वाधारको विकास र आर्थिक समृद्धिबाट आत्मनिर्भर बनाउने बाटोमा प्रदेश सरकारले जनमुखी कार्यक्रम ल्याउनुपर्नेमा बताए ।

प्रदेश प्रमुख शर्माले देशमा वंशज पराम्परा अनुसार राष्ट्र प्रमुख हुने पद्धतिलाई नेपालको संविधानले परिवर्तन गरी सबै नेपालीका छोरा–छोरीहरु पनि राष्ट्र प्रमुख हुनसक्ने अवसर प्राप्त भएको भन्दै अब त्यसप्रति वितृष्णा उत्पन्न गर्ने कार्य गर्न नहुने स्पष्ट पारे ।

यस्तै, सो अवसरमा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जनताहरुले गन्तान्त्रिक व्यवस्थाको विकल्प नखोज्ने बताए । उनले अहिले देशमा राजनीतिक नेतृत्वबाट केही कमिकमजोरी भएको तर्फ राजनीतिक दलहरुले स्वीकार गर्नुपर्ने बताउँदै आफुलाई सच्याएर देशको नेतृत्वमा दिगो शान्ति, मानव अधिकारको संरक्षण गर्न र जनताप्रति जवाफदेही भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

यस्तै, कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले जनतालाई भौतिक पूर्वाधारको विकास र आर्थिक समृद्धिबाट आत्मनिर्भर बनाउँदै लैजानुपर्नेमा जोड दिए । प्रदेश सरकारले अहिले जनमुखी कार्यक्रम ल्याएको स्मरण गराउँदै संद्मा रहेका दलहरुले पनि सरकारलाई आफ्नो सल्लाह सुझाव दिएर अघि बढ्नुपर्ने मन्तव्य राखेका थिए ।

गणतन्त्र दिवसको उपलक्ष्यमा हेटौंडास्थित भुटनदेवी उच्च माविको प्राङ्गनबाट आज बिहानै निस्किएको प्रभातफेरीले हेटौंडा नगरको परिक्रममा गरी मुख्यमन्त्री परिसरको प्राङ्गनमा पुगेर कोणसभामा परिणत भएको थियो ।

उक्त कार्यक्रममा विविध सम्मान तथा पुरस्कार वितरण र शुभकामना आदान प्रदान गरिएको थियो । पुरस्कृत हुनेहरुमा क्रमशः संचारकर्मी सरिता दाहाल, शिवप्रसाद देवकोटा, राजकुमार सिग्देल, इश्वरप्रसाद जोशी, सृजना वाईबा रहेका छन् । उनीहरुले नगद रु २५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका थिए ।

यसैगरी, सो क्रममा चलचित्र क्षेत्रका कलाकारहरुलाई पनि नगदसहित पुरस्कार प्रदान गरिएको थियो भने मकवानपुरको पश्चिमी भेगमा पर्ने विभिन्न गाउँपालिकाको सहिद परिवारहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

यसैबीच, बागमती मन्त्रिपरिषद् र सचिवहरुबीच सम्पन्न भएको फुटबल प्रतियोगितामा प्रथम भएका सचिव समूहका कामु प्रमुख सचिव गोविन्दबहादुर कार्कीलाई शिल्ड, मेडल प्रदान गरिएको थियो ।

त्यसैगरी, गणतन्त्र दिवसको अवसमा सामाजिक विकास मन्त्रालयद्वारा आयोजित वादविवाद प्रतियोगिताको विजयी विद्यार्थीहरुलाई पनि नगदसहित पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा विभिन्न मन्त्रालयका सचिवहरु, कार्यालय प्रमुख, मकवानपुरका प्रजिअ सूर्यप्रसाद सेढाई, सामाजिक कार्यकर्ता र नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका उच्चअधिकृतहरुको उपस्थिति रहेको थियो ।