अवैध लागूऔषधसहित १२ जना पक्राउ
काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा, बारा, कैलाली, कञ्चनपुर र बाँके जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले झापाको कचनकवल गाउँपालिका–४ स्थित सुनकोशी चिया बगानबाट अवैध लागूऔषध ब्राउनसुगर ४० ग्राम ८ सय ४० मिलिग्रामसहित मंगलबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका–४ बस्ने ३६ वर्षीया अलिसा शेख रहेका छन् । इलाका प्रहरी कार्यालय केचनाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी झापाको शिवसताक्षी नगरपालिका–१ धरमपुर सुक्रबारेबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्रामसहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ । सोही नगरपालिका–१ चौतारामा बस्ने ३० वर्षीय शिसिर सुब्बा समेत २ जनालाई पक्राृ गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी झापाको गौरिगञ्ज गाउँपालिका–१ दास चौरीबाट अवैध लागूऔषध ब्राउनसुगर १२ ग्राम २ सय मिलिग्राम र नगद रुपैयाँ ३ हजार ५ सय २५ रूपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरदह नगरपालिका–९ बैगुनधुरा बस्ने ३२ वर्षीय नबिन बस्नेत र मोरङ बयरवन घर भएका ३२ वर्षीय प्रबिन ठकुरी रहेका छन् । प्रहरी चौकी कुञ्जिबारी र सशस्त्र प्रहरी बल नेपाल बिओपी कुञ्जिबारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.८१ प ७१७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस्तै, प्रहरीले बाराको प्रसौनी गाउँपालिका–१ नकटुवाबाट अवैध लागूऔषध ब्राउनसुगर करिब २ ग्राम ४ मिलिग्रामसहित मंगलबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा निजगढ नगरपालिका–७ लचका टोल बस्ने २७ वर्षीय सुनिल रूम्बा तमाङ रहेका छन् । इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले ना.६१ प १७२७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
उता, कैलालीको गोदावरी नगरपालिका–१ धनगढी रोड कृष्ण मार्केटबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम १ सय मिलिग्राम र नाईट्राभेट ७ ट्याब्लेटसहित प्रहरीले मंगलबार दुई जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–३ बस्ने २० वर्षीय रोहन घिमिरे समेत ३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
त्यस्तै, कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्रामसहित सोही नगरपालिका–१० बस्ने २५ वर्षीय प्रशान्त चौधरी समेत २ जनाको मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले से.५ प ५६२५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी, प्रहरीले बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर ६ सय मिलिग्रामसहित मंगलबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–४ बानियाभार बस्ने २५ वर्षीय प्रदिप खत्री रहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
