ओमान पुर्याइ मानव बेचबिखन गरेको अभियोगमा पक्राउ

तु खबर संवाददाता
२०८१ जेष्ठ ७, सोमबार १६:००

काठमाडौं । वैदेशिक रोजगारीमा ओमान पठाइदिने प्रलोभन देखाई भिजिट भिसामा ओमान पुर्याइ मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूपन्देही रोहिणी गाउँपालिका–४ ठेगाना भएका ५१ वर्षीय समसुद्दिन खाँ पठानलाई रहेका छन् ।

पीडितको आफन्तको उजुरीको आधारमा आमानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई बिहीबार काठमाडौं टोखा नगरपालिका–९ शिबचोकबाट पक्राउ गरेको हो ।

पठानले फ्रि भिसा र फ्रि टिकटमा ओमानमा मासिक ४० हजार रूपैयाँ पारिश्रमिक हुने प्रलोभन देखाएको, ओमान पठाईदिने भनि काठमाडौंबाट भारत पुर्याइ भारतको मुम्बईबाट पीडितलाई २०७९ चैत ९ गते भिजिट भिसामा ओमान पुर्याएको र ओमान पुगेपछि ओमानी नागरिकको घरमा पुर्याइ बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उक्त ब्यूरोको पहलमा पीडितलाई वैशाख १८ गते नेपाल फिर्ता ल्याइएको छ । पक्राउ परेका पठान उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी गरिरहेको छ ।