आफ्नै ५ महिने छोराको हत्या गर्ने महिला पक्राउ

तु खबर संवाददाता
२०८१ जेष्ठ ५, शनिबार ११:१२

पर्सा । आफ्नै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा प्रहरीले पर्साबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१७ अलौ बस्ने २२ वर्षीया आरती कुमारी रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका–१३ बाट मंगलबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, आरतीले २०८० साउन २७ गते बिहान घरमा कोही नभएको बेला छोरालाई घाटी थिची हत्या गरी फरार भएकी थिइन् । भारत पूर्वी चम्पारण थाना रक्सौल पोष्ट सिहपुर हरैयाग्राम एकडर्वा टोलमा बस्दै आएकी उनलाई हाल पर्साको वीरगंजमा घुमफिर गरिरहेको भन्ने विशेष सूचनाको आधारमा पुगेको प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत पर्साबाट २०८० कात्तिक १९ गते आरती कुमारी भएको ज्यान सम्बन्धी मद्दामा पक्राउ पुर्जी जारी भएको थियो । उनीमाथि आवश्यक कारबाही प्रकृया अगाडि बढाइएको छ ।