हेटौंडामा तामाङ भाषा संस्कार संस्कृति सम्बन्धि अभिमुखीकरण

तु खबर संवाददाता
२०८१ जेष्ठ १, मंगलवार १६:३९

मकवानपुर । मकवानपुरको हेटौंडामा तामाङ भाषा संस्कार संस्कृति सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

तामाङ पत्रकार संघ मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा सोमबार एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा अधिवक्ता अमृत लामाले बागमती प्रदेशमा नेवाः/तामाङ भाषा कामकाजी भाषाको रुपमा लागू गराउन निकै संघर्ष गर्नु परेको र तामाङ समुदायको भाषा, संस्कृति, अधिकार सम्बन्धि कानुनी विषयमा प्रष्ट्याएका थिए ।

प्रशिक्षक भाषाविद् जीवन मोक्तानले इतिहासिकदेखि वर्तमान अवस्थामा भाषा संस्कार, परम्परागत रुपमा चलिआएको चालचलन र विवाह संस्कार, प्रथा अन्य विविध विषयमा जानकारी गराएका थिए ।

यसैगरी, तामाङ पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष तथा केन्द्रीय सदस्य आदर्श थोकरले पत्रकारिता क्षेत्रमा विगतमा गरेका संघर्षको अनुभवहरु, वर्तामान अवस्थमा रहेका उदयमान तामाङ पत्रकारहरुले कसरी पत्रकारिता गर्ने, समुदायको हित र राष्ट्रको हितमा कसरी कलम चलाउनेलगायत विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।

यस्तै, प्रशिक्षक बनस्तम थिङले पत्रकारिता क्षेत्रको हिसाबमा तामाङ पत्रकारहरुले अझै छलाङ मार्नुपर्ने बताए । तामाङ समुदायलाई अगाडि बडाउनको निम्ति र अधिकारको विषयमा कलम चलाउनुपर्ने बताए ।

कार्यक्रम हेटौंडा–२ का अध्यक्ष एवम् नेवा द्वय दबु बागमती प्रदेश अध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यता र तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तानको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ मकवानपुरका सचिव किरणमान बल, नेपाल तामाङ घेदुङ मकवानपुरका सल्हाकार सानु लामा दोङ, राजकुमार गोले, मकवानपुर तामाङ कलाकार संघका सचिव बिक्रम लुङ्बा र सदस्य हेमकुमार तितुङ लगायत विभिन्न संघ–संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।