टर्की पठाउने भन्दै ठगी गर्ने श्रेष्ठ पक्राउ

तु खबर संवाददाता
२०८१ बैशाख ३१, सोमबार १८:३३
सांकेतिक तस्बिर

काठमाडौं । वैदेशिक रोजगारीमा टर्की पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–५ घर भई काठमाडौं महानगरपालिका–७ चावहिल बस्ने ४२ वर्षीय विनोद श्रेष्ठ रहेका छन् ।

उनलाई १ सय २४ जना व्यक्तिहरूबाट ४ करोड ३४ लाख रूपैयाँ ठगी गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चावहिलबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, टर्कीको युएन मिसन कार्यालयमा वोर्क पर्मिटमा कामदार पठाउने, त्यहाँ गएपछि आकर्षक तलब हुने, युएनको भवन निर्माणको काममा मासिक १ हजार ४ सय ५० डलर कमाई हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितहरूबाट उक्त रकम लिई उनी सम्पर्क विहिन भएका थिए ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।