अवैध लागूऔषधसहित १७ जना पक्राउ
काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । प्रहरीले कास्की, कञ्चनपुर, मोरङ, बर्दिया, ताप्लेजुङ र कैलाली जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले कास्कीको पोखरा महानगरपालिका–३० खुदीस्थित खुल्ला चौरबाट अवैध लागूऔषध ब्राउनसुगर ६२ मिलिग्रामसहित ३ जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–३० बस्ने २४ वर्षीय बसन्त राज घिमिरे, २६ वर्षीय किरण पौडेल र सोही महानगरपालिका–३२ गगनगौडा बस्ने २४ वर्षीय सन्देश खत्री रहेका छन् । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
यस्तै, प्रहरीले कञ्चनपुरको भिमदत्त नगरपालिका–१० गड्डाचौकीबाट अवैध लागूऔषधसहित ३ जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २६ वर्षीय नबिन कार्की, २१ वर्षीय दिपक कार्की र २७ वर्षीय कुश कार्की रहेका छन् ।
उनीहरुलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुर, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुर र इलाका प्रहरी कार्यालय गडडाचौकीबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रहरीले नबिनलाई अवैध लागूऔषध चरेश १ सय ९५ ग्राम, दिपकलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५८ मिलिग्राम र कुशलाई १५ मिलिग्रामसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसैगरी, मोरङको बिराटनगर महानगरपालिका–१६, हुलास चोकबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ५८ मिलिग्रामसहित आइतबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–१६ बस्ने ३१ वर्षीय मिलन तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।
उता, बर्दियाको बढैयाताल गाउँपालिका–७ पडरीयाबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगर १ सय ३० मिलिग्रामसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही ठाउँ बस्ने २७ वर्षीय प्रेम सुनारसहित ६ जनालाई आइतबार राति पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरू उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, ताप्लेजुङको पाथिभरा याङबरक गाउँपालिका–१ मेवाखाबाट अवैध लागूऔषध खैरो हेरोइन ४ सय ४० ग्रामसहित आइतबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फुङलिङ नगरपालिका–३ बस्ने ३० वर्षीय सुवास चन्द्र दाहाल र २५ वर्षीय योगेश भारती रहेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरीले पाँचथरबाट ताप्लेजुङतर्फ आउँदै गरेको प्र.१–०३–००१ प २६१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार दुवै जनालाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।
त्यस्तै, प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–१० चकमेलीघाटबाट अवैध लागूऔषध ब्राउनसुगर २ सय ४० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही उपमहानगरपालिका–९ बस्ने २२ वर्षीय बिषेश नाथ योगी र २७ वर्षीय राजेन्द्र भाटलाई आइतबार राति पक्राउ गरेको जनाएको छ । अस्थाई प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
