ललितपुर आगलागी: मृतकको संख्या ३ पुग्यो

तु खबर संवाददाता
२०८१ बैशाख ३१, सोमबार १०:२८
सांकेतिक तस्वीर

काठमाडौं । ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा भएको आगलागीमा परेर मृत्यु हुनेको संख्या तीन जना पुगेको छ ।

आगलागीमा परेर गम्भीर घाइते भएकी रुपा गिरीको मृत्यु भएसँगै मृतकको संख्या तीन पुगेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रहरीका अनुसार, ३२ वर्षीया रुपाको ग्वार्कोस्थित किस्ट अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

मोबिल स्टोर गरिएको टहरोमा गत वैशाख २३ गते आगलागी हुँदा सञ्जय गिरी परिवारका पाँच सदस्य घाइते भएका थिए ।

घाइतेमध्ये सञ्जयका छोरीहरु ८ वर्षीया प्रिया र ३ वर्षीया एलिसा गिरीको यसअघि नै मृत्यु भएको थियो । उनीहरुको पनि सोही अस्पतालमा उपचारको क्रममा वैशाख २४ गते मृत्यु भएको थियो ।

उपचारकै क्रममा रहेकी रुपाको पनि आज बिहान मृत्यु भएको हो । रुपा सञ्जयको श्रीमती हुन् ।

यस्तै, आगलागीमा परी घाइते भएका सञ्जयको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनीहरुका भतिज १५ वर्षीय नित गिरीको पनि उपचार जारी छ ।