अवैध लागूऔषधसहित सात जना पक्राउ
काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले सुनसरी, कैलाली र कपिलवस्तु जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ ढलान रोडबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम ४ सय मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर बेलका नगरपालिका–९ बस्ने २६ वर्षीय नरेश बिश्वकर्मा र भोजपुर हतुवागढी गाउँपालिका–९ घर भई हाल सुनसरी बराहक्षेत्र नगरपालिका–७ बस्ने ३० वर्षीय सामुएल राई रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.६८ प ८६९८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी, सुनसरीको धरान उपमहानगरपालिका–८ सभागृह मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ५ सय मिलिग्रामसहित बुधबार साँझ एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २२ वर्षीय साजन विक रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर ५० मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१३ बस्ने २५ वर्षीय उमेश राना र १९ वर्षीय रूस्तम राना रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–१७ पथरीबाट अवैध लागूऔषध ब्राउनसुगर २ सय ७० मिलिग्रामसहित बुधबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २७ वर्षीय बिनोद चौधरी रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी कनरीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, कपिलवस्तुको बाणगंगा नगरपालिका–२ पिपरास्थित हाटबजारबाट अवैध लागूऔषध ब्राउनसुगर ६ सय ९० मिलिग्रामसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही नगरपालिका–३ गंगोलीया बस्ने २३ वर्षीया जानकी चौधरीलाई बुधबार राति पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
