९ वर्षपछि पक्राउ परे मकवानपुरका आले
मकवानपुर । कर्तव्य ज्यान मुद्दामा फरार रहेका मकवानपुरका शंकर आले ९ वर्षपछि पक्राउ परेका छन् । मकवानपुरको साविक चित्लाङ गाबिस–३ सिरूपाटा ठेगाना भएका ४७ वर्षीय आलेलाई आइतबार नवलपरासीबाट पक्राउ परेका हुन् ।
मकवानपुरको साविक मार्खु गाबिस–४ बस्ने पूर्ण बहादुर बिष्टको हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार, वि.सं. २०६१ कात्तिक २९ गते आले समेतका व्यक्तिहरूले बिष्टलाई व्यक्तिगत रिसिइवीका कारण कुटपिट गरेर हत्या गरेको थियो । कुटपिट भएको भोलिपल्ट मकवानपुरको मार्खु र चित्लाङ भन्ने स्थानको दोसाधमा पर्ने काल्सिङ् खोलामा बिष्टको शव फेला परेको थियो ।
जिल्ला अदालत मकवानपुरको २०७२ वैशाख २३ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा आलेलाई साविक मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (३) बमोजिम जन्मकैद हुने ठहर गरेको थियो ।
त्यसपछि फरार रहेका आलेलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले करिब ९ वर्षपछि नवलपरासी देवचुली नगरपालिका–३ प्रगतिनगरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका आले तत्काल नेपाली सेनाको श्री नं. ७ बाहिनीस्थित अड्डा चनवन मकवानपुरमा कार्यरत थिए । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत चितवनमा पेश गरिएको प्रहरीले जनाएको छ ।
