अवैध लागूऔषधसहित पाँच जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले सुनसरी, मोरङ र कैलाली जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले सुनसरीको इटहरी महानगरपालिका–५ शान्तीमार्ग टोलबाट अवैध लागुऔषध खैरो हेरोइन ४ सय ९० मिलिग्रामसहित शनिबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३२ वर्षीय बिटु भन्ने दिबश भुजेल रहेका छन् ।
अस्थायी प्रहरी चौकी जनताबस्तीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस्तै, प्रहरीले मोरङको बिराटनगर महानगरपालिका–१६ हुलास चोकबाट अवैध लागुऔषध ब्राउन सुगर २ ग्राम ४५ मिलिग्रामसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–१९ बस्ने २५ वर्षीय किरण राई रहेका छन् ।
लागुऔषध ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी, प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका– ७ देबरियाबाट अवैध लागुऔषध ब्राउनसुगरसहित शनिबार तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध ब्राउनसुगर ७ सय २० मिलिग्रामसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २८ वर्षीय सेवालाल राना, ३० वर्षीय राम गोपाल राना र २४ वर्षीय अभिषेक राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटीएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
