वनमा आगो लगाएको आरोपमा पाँच जना पक्राउ
काभ्रे । जङ्गलमा आगो लगाएको आरोपमा पाँच जना पक्राउ परेका छन् । छुट्टाछुट्टै जंगलमा आगो लगाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा आगो झोसेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मण्डनदेउपुर नगरपालिका–११ का ३१ वर्षीय मैते तामाङ, २५ वर्षीय विकास भुजेल र सविन सुनार रहेका छन् ।
यस्तै, प्रहरीले नमोबुद्ध नगरपालिका वडा नम्वर १ कासकोट सामुदायिक जङ्गलमा आगो लगाएको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ८० वर्षीया आइतीमाया तामाङ रहेको प्रहरीले जनाएको छ ।
यसैगरी, प्रहरीले चौँरीदेउराली गाउँपालिका–६ को आरुबोट सामुदायिक जङ्गलमा आगो लगाएको आशङ्कामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही वडाका ४९ वर्षीय लालकुमार सेन ठकुरी रहेका छन् ।
प्रहरीका अनुसार, पक्राउ परेका पाँचमध्ये नमोबुद्ध–१ का तामाङलाई हिरासतमुक्त गरिएको र अन्यलाई मुद्दा चलाइएको छ ।
